२२ बैशाख, काठमाडौँ | मध्यपूर्वको खाडी क्षेत्रमा पछिल्लो समय विकसित सुरक्षा घटनाक्रमले विश्वव्यापी आपूर्ति प्रणाली र ऊर्जा बजारमा नयाँ तरंग पैदा गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहस्थित तेल बन्दरगाह नजिकै भएको एक सुरक्षा घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

यूएईका अधिकारीहरूका अनुसार फुजैराह बन्दरगाहमा रहेको एक तेल ट्याङ्करमा आक्रमण भएको छ, जसका कारण त्यहाँ आगलागी र केही व्यक्ति घाइते भएका छन् । यूएईले आफ्नो रक्षा प्रणालीमार्फत कैयौँ क्षेप्यास्त्र र ड्रोनहरूलाई निस्कृय पारेको दाबी गर्दै यसलाई गम्भीर सुरक्षा खतराको रूपमा लिएको छ ।
यसैबीच, ओमानको सीमावर्ती क्षेत्रमा रहेको एक आवासीय भवन र दक्षिण कोरियाली जहाजमा पनि आकस्मिक विस्फोटका खबरहरू सार्वजनिक भएका छन् ।
यी घटनाहरूको सिधै असर इन्धन बजारमा देखिएको छ । सोमबार कच्चा तेलको मूल्यमा ५ प्रतिशतभन्दा बढीको वृद्धि भई प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ । जलमार्गमा देखिएको अवरोधले आपूर्ति शृङ्खला प्रभावित हुन सक्ने भन्दै लगानीकर्ताहरू चिन्तित देखिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत जलमार्गमा अलपत्र जहाजहरूको सुरक्षा सुनिश्चित गर्ने बताउँदै मानवीय सहायता र व्यापारिक मार्गमा अवरोध भए बल प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ भने छिमेकी राष्ट्र कतारले यी आक्रमणहरूको निन्दा गर्दै विश्वव्यापी व्यापारका लागि जलमार्ग निःशर्त रूपमा खुला रहनुपर्ने माग गरेको छ; यता इरानले भने यी घटनाहरूमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै लगाइएका आरोपहरूको खण्डन गरेको छ ।
हाल सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेका छन् ।



