चितवन । बैशाख ६ गते
चितवनको माडी नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायलाई सुरक्षित बसोबास उपलब्ध गराउन एकीकृत बस्ती निर्माण अभियान अघि बढाएको छ । माडी ७ देबेन्द्रपुरस्थित परुई नदी किनारमा जोखिमपूर्ण अवस्थामामा बस्दै आएका ३९ परिवारका लागि नयाँ घर निर्माण प्रक्रिया सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने आवास कार्यक्रममार्फत चेपाङसहित अन्य विपन्न समुदायलाई लक्षित गरी बजेट व्यवस्था भइसकेको प्रदेश सांसद ठाकुर प्रसाद ढकालले जानकारी दिएका छन् । प्रारम्भिक सर्वेक्षणपछि लाभग्राही छनोट गरी सिफारिस प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

बाढी र कटानको उच्च जोखिममा रहेका यी परिवारलाई करिब ४ लाख रुपैयाँ लागतमा सुरक्षित घर निर्माण गरिनेछ । कार्यक्रम सम्पन्न भएपछि दीर्घकालदेखि अस्थायी बसोबासमा रहेका परिवारले स्थायी आवास पाउने अपेक्षा गरिएको छ ।



