चितवन । वैशाख ६
नारायणगढका पुलचोक र पोखरा बसपार्क क्षेत्रमा आइतबार यात्रुहरूले बस नपाएर घण्टौँ अलपत्र पर्नुपरेको छ । सामान्यतया भीडभाड हुने यी स्थानमा सवारी चालक र सहयोगी नै नदेखिँदा यात्रुहरू आफैँ गाडी खोज्दै भौतारिएका छन् ।
देवघाटका गणेश थापा बिहानै काठमाडौँ जान निस्किए पनि दिउँसोसम्म बस नपाउँदा बसपार्कमै बस्न बाध्य भए । यस्तै, उपचारका लागि काठमाडौँ जान लागेका देवराज पौडेलले पनि घण्टौँ कुर्दा गाडी नपाएको गुनासो गरे । सवारी अभावसँगै भाडा पनि अस्वाभाविक रूपमा बढेको छ । सामान्य ५५०–६४० रुपैयाँ पर्ने भाडा बढेर १,२०० रुपैयाँसम्म पुगेको यात्रुहरूले बताएका छन् ।
प्रशासनले पुलचोक र आँपटारीबाट यात्रु चढाउन रोक लगाएर बसपार्कबाट मात्रै टिकट लिन निर्देशन दिएको भए पनि त्यहाँ टिकट र गाडी दुवै अभाव छ । यातायात व्यवसायीहरूले भने डिजेलको मूल्यवृद्धिका कारण गाडी सञ्चालन घटाएको बताएका छन् । पहिले दैनिक करिब १०० बस चल्ने गरेकामा अहिले संख्या घटेर करिब ३० मा सीमित भएको उनीहरूको भनाइ छ ।
यता प्रशासनले भने यात्रुवाहक सवारी सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गर्दै निगरानी बढाउने जनाएको छ ।




