काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूका लागि आजदेखि काठमाडौंमा दुईदिने विशेष प्रशिक्षण कार्यक्रम सुरु गर्दै छ ।
पार्टीको प्रशिक्षण विभागले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म आयोजना गर्ने यस कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास र विविध समसामयिक विषयमा जानकारी गराइने बताइएको छ ।
प्रशिक्षण विभागका प्रमुख विपिनकुमार आचार्यका अनुसार आज र भोलि सञ्चालन हुने यस सत्रमा पार्टीका सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
संसद्मा पार्टीको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रशिक्षणमा सांसदहरूले संसदीय कार्यप्रणाली र नीतिगत विषयमा विज्ञहरूबाट जानकारी लिने अपेक्षा गरिएको छ ।




