३ असोज, माडी । माडी ३, बसन्तपुरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसरमा माडी नगरपालिका–३ स्थित वडा कार्यालय अगाडिको सहिद चोकमा स्थानीय नागरिक, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।
सो अवसरमा सडकमा नेपालको नक्सा र राष्ट्रिय झण्डा बनाई मैनबत्ती बालिएको थियो । साथै ‘संविधान दिवस २०८३ को हार्दिक शुभकामना’ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ लगायतका सन्देशसहित दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको थियो ।
वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित प्रतिनिधि सम्मिलित संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । सोही ऐतिहासिक दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला माडीमा पनि दीप प्रज्वलनसहित संविधान दिवस मनाइएको हो ।







