१४ भदौ, चितवन । दिनभरको प्राविधिक सास्ती र मर्मतको अथक प्रयासपछि आइतबार साँझ करीब ८:२५ बजेबाट माडीका अधिकांश क्षेत्रमा विद्युत् प्रवाह पुन : सुरू भएको छ । यसअघि चितवन राष्ट्रिय निकुञ्जभित्रको बनकट्टा पोस्ट नजिक भूमिगत केबुलमा फल्ट पत्ता लगाएर मर्मत भइरहँदा राति ९ बजेसम्म विद्युत् सुचारु हुने अनुमान गरिएको थियो । तर प्राविधिक टोलीको तीव्र मर्मत कार्यका कारण तोकिएको समयभन्दा अगावै माडीका धेरैजसो भागमा विद्युत् आपूर्ति सहज भएको हो ।
आज बिहान भरतपुर स/स स्थित सि.टि. (CT) मा समस्या आई विद्युत् ठप्प भएकोमा दिउँसो बुटवलबाट फल्ट लोकेटर मेसिन ल्याएर निकुञ्ज खण्डको केबुल फल्ट मर्मत गरिएको थियो ।
तथापि, माडी वडा नं. ६ को लक्ष्मीबास, लोउकाली चोक, क्रसर र मजुवा आसपासका क्षेत्रमा भने अझै पनि विद्युत् सेवा अवरुद्ध नै छ । उक्त क्षेत्रमा फल्टको वास्तविक कारण र स्थान पत्ता लाग्न नसकेका कारण आज बिजुली दिन नसकिएको प्राविधिकहरूले बताएका छन् । ती बाँकी स्थानहरूमा भोलि बिहानैदेखि पुन : फल्ट पहिचान गरी मर्मत सम्भार पश्चात सेवा सुचारु गरिने जनाइएको छ । सामयिक असुविधाप्रति चनौली वितरण केन्द्र तथा माडी प्रशाखाले ग्राहक वर्गसँग क्षमा मागेको छ ।







