९ साउन, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
सत्तासाझेदार दुई दलबीचको सहमतिको समयावधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएकाले अविश्वासको प्रस्ताव दर्ता हुने स्थिति बनेको उनले बताए । दुई दलबीच भएको सहमति कार्यान्वयनका लागि आफूले निरन्तर पहल गरेको स्पष्ट पार्दै उनले प्रदेशको राजनीति अत्यन्तै अस्थिर बन्दै गएको टिप्पणी गरे । एक दिनअघि विश्वास हुने र अर्को दिन अविश्वासको स्थिति सिर्जना हुने भन्दै उनले प्रदेश राजनीतिमा विश्वास र अविश्वासबीचको दूरी निकै छोटो भएको बताए ।




