२४ असार, काठमाडौँ । जापानको अध्यागमन सेवा एजेन्सीले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति (PR) र दीर्घकालीन भिसा प्रदान गर्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार अब विदेशी नागरिकहरूले ‘जापानी भाषा तथा जीवन सिकाइ कार्यक्रम’ मा सहभागी हुन अनिवार्य गरिने भएको छ । साथै जापानी नागरिकता प्राप्त गर्ने प्रक्रियामा पनि उक्त कार्यक्रमको अध्ययन तथा समझलाई मूल्याङ्कन गर्ने योजना सरकारको रहेको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसै वर्षको गर्मीयामदेखि विशेषज्ञहरूको समिति गठन गरी कार्यक्रमको विस्तृत ढाँचा तयार गरिनेछ । सरकारले सन् २०२७ सम्म प्रणाली तयार गरी सन् २०२८ देखि परीक्षणका रूपमा लागू गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रम पूर्ण रूपमा लागू हुनुअघि नै स्थायी बसोबास र जापानी नागरिकताका लागि निश्चित स्तरको जापानी भाषा दक्षता अनिवार्य गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । हालसम्म विदेशी नागरिकलाई भाषा , नियम र दैनिक जीवनसम्बन्धी जानकारी गराउने जिम्मेवारी मुख्यतः स्थानीय सरकार र विभिन्न संस्थाहरूले सम्हाल्दै आएका थिए । अब भने यसलाई राष्ट्रिय स्तरमै व्यवस्थित र एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने तयारी सरकारले अघि बढाएको हो । यो व्यवस्था लागू भएमा जापानमा दीर्घकालीन बसोबास वा नागरिकता लिन चाहने नेपालीसहित सबै विदेशी नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुने अपेक्षा गरिएको छ ।




