२० असार, चितवन । विश्वकपको रोमाञ्चक भिडन्तमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केपभर्डेमाथि ३-२ को सकसपूर्ण जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । खेलको सुरुवाती समयदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल जित्न अर्जेन्टिनाले अतिरिक्त समयसम्म सङ्घर्ष गर्नु परेको थियो ।
पहिलो हाफको २९ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो गोलसँगै मेस्सीले जारी विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरे भने विश्वकप इतिहासमा आफ्नो गोल सङ्ख्या २० पुर्याएका छन् । तर , दोस्रो हाफको ५८ औँ मिनेटमा केपभर्डेका ड्रोए डुवार्टेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेटसम्म थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको ९२ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए पनि १०३ औँ मिनेटमा केपभर्डेका सिड्ने लोपस क्याब्रेलले गोल गरेर खेल फेरि २-२ को स्थितिमा पुर्याए । अन्ततः १११ औँ मिनेटमा केपभर्डेका डिनी बोर्गसबाट आत्मघाती गोल हुन पुग्यो , जसका कारण अर्जेन्टिना ३-२ ले विजयी बन्यो । अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ ।




