१५ असार, चितवन ।
माडी नगरपालिकामा सञ्चालित होमस्टे सञ्चालकहरूको ५ दिने ‘स्तर उन्नति तथा आचारसंहिता’ तालिम आज असार १५ गते सफलतापूर्वक सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ससर्त अनुदान र माडी नगरपालिकाको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो ।
उक्त तालिम माडी नगरपालिका वडा नं . ६ स्याउलीबासस्थित ‘होप इको भिलेज होमस्टे’ मा सञ्चालन गरिएको थियो । गत असार ११ गते वडा नं . ६ का वडा अध्यक्ष दिपेन्द्र राज पौडेलको अध्यक्षता र नगर प्रमुख ताराकाजी कुमारी महतोको प्रमुख आतिथ्यतामा सुरु भएको तालिम आज विधिवत रूपमा सकिएको हो ।
यस ५ दिने तालिममा प्रशिक्षक दामोदर देवकोटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले होमस्टेलाई कसरी बढी व्यवस्थित, आकर्षक र आचारसंहिता भित्र रहेर सञ्चालन गर्ने भन्नेबारे सहभागीहरूलाई महत्वपूर्ण व्यावहारिक सीप सिकाउनुभएको हो । कार्यक्रममा रोजगार संयोजक यमुना ढकाल, उद्यम विकास सहायक अस्मिता सुवेदी र होमस्टे सङ्घका सल्लाहकार श्री प्रसाद दराईको पनि विशेष उपस्थिति रहेको थियो ।
तालिममा सोममाया तामाङ, आशा धामी, लक्ष्मी पौडेल, कृष्ण कुमारी पाख्रिन, लिला कुमारी, सुमित्रा दुरा, टिका दुरा, रन्पतिया चौधरी, मञ्जु चौधरी, धन कुमारी बरुवाल, सरिता पुन, माया पुन र नैना श्रेष्ठ लगायतका स्थानीय सञ्चालकहरूले सक्रियतापूर्वक प्रशिक्षण पूरा गर्नुभएको छ ।




