३ असार, माडी । बागमती प्रदेश सरकारले सोमेश्वरगढी क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राख्दै माडीको पर्यटन तथा सांस्कृतिक पूर्वाधार विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ । सार्वजनिक योजना अनुसार विभिन्न वडाका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका लागि रकम सुरक्षित गरिएको हो ।
सोमेश्वरगढी क्षेत्र विकास योजना :
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरमार्फत कार्यान्वयन हुने गरी सोमेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यसै गरी, सो क्षेत्रको समग्र पूर्वाधार विकासका लागि ४५ लाख र सोमेश्वरगढीस्थित सामुदायिक भवनमा फर्निचर, कार्पेटिङ तथा मूर्ति खरिदका लागि थप २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वडागत बजेट तथा योजनाहरूको विवरण :
माडी १ : इको भिलेज पर्यटन आवास तथा पूर्वाधार निर्माण, बौद्ध गुम्बा पूर्वाधार, नेवा समाज गुठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि क्रमशः १०–१० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
माडी २ : शहीद पार्क मूर्ति तथा भौतिक पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
माडी ६ : म्लेक्यु क्होइबो तमु समाज भवन तथा मणि छेलिङ बौद्ध गुम्बा भवन निर्माण कार्यका लागि कुल ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
माडी ७ : दक्षिण सोमेश्वर कालिका मन्दिर निर्माण कार्य सम्पन्न गर्न तथा अष्टचीरञ्जीवि पार्क निर्माणका लागि १० लाख, चेपाङ सङ्ग्रहालय निर्माणका लागि १० लाख र खरिकुना पार्क निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । सोही वडामा रहेको त्रिवेणीधाम बराह मन्दिर तथा ताल संरक्षणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
माडी ८ : इन्द्रबस्तीमा सामुदायिक भवन निर्माणका लागि १५ लाख ।
माडी ९ : चेपाङ समुदायको पहिचान संरक्षणका लागि चेपाङ सङ्ग्रहालय तथा आवास निर्माण गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारको यस बजेटले माडी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।




