१ असार, हेटौँडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारको आगामी वर्षको वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।
बजेट व्यवस्थापनका क्रममा प्रदेश सरकारले विकास निर्माण र पूर्वाधार लक्षित पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएको छ । कुल विनियोजित बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ३१ प्रतिशत छुट्याइएको छ भने पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात् ६५ दशमलव ६९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी मन्त्री तामाङले दिनुभयो ।
बजेट कार्यान्वयनका लागि खर्च बेहोर्ने स्रोतहरूतर्फ सरकारले आन्तरिक र बाह्य राजस्व तथा अनुदानलाई मुख्य आधार बनाएको छ । राजस्व बाँडफाँडबाट प्राप्त हुने स्रोतबाट ३० अर्ब १५ करोड ६ लाख र अन्य आन्तरिक राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । यसैगरी, सङ्घीय सरकारबाट अनुदानबापत १५ अर्ब ३१ करोड रुपैयाँ प्राप्त हुने मन्त्री तामाङले बताउनुभयो ।
यसका साथै सरकारले सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ व्यवस्थापन गर्ने योजना बजेटमा समेटेको छ । बजेट प्रस्तुत गर्दै मन्त्री तामाङले प्रदेशमा नयाँ लगानीको अनुकूल वातावरण तयार गर्ने र समग्र आर्थिक क्रियाकलापमा वृद्धि गर्ने लक्ष्यका साथ यस पटकको राजस्व नीति प्रस्ताव गरिएको जानकारी दिनुभयो ।




