१ असार, काठमाडौँ । भारतको अयोध्यास्थित श्री राम जन्मभूमि मन्दिरमा संकलन हुने दान र भेटीको व्यवस्थापनमा आर्थिक अनियमितता भएको दाबी गर्दै भारतीय सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । सर्वोच्च अदालतका अधिवक्ता अनूप प्रकाश अवस्थीले भारतका प्रधानन्यायाधीश (CJI) समक्ष एक ‘पत्र निवेदन’ पेस गर्दै मन्दिरको कोष सञ्चालनमा पारदर्शिता कायम गराउन न्यायिक निर्देशनको माग गर्नुभएको हो ।
यस प्रकरणमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरी छानबिन तीव्र बनाएको छ । तर, यति ठूलो आर्थिक अनियमितताका विषयमा हालसम्म प्रहरीमा औपचारिक एफआईआर दर्ता भएको छैन ।
यो घोटालामा करिब सात करोड भारतीय रुपैयाँ चोरी भएको अनुमान गरिएको छ । चोरी भएको रकममध्ये हालसम्म करिब दुई करोड ९८ लाख बरामद भइसकेको छ । शनिबार (जुन १३) राति प्रहरीले दुई फरक स्थानमा छापा मार्दा लाखौँ रुपैयाँ नगद फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य अनुसार, भविष्यमा हुन सक्ने सम्भावित वित्तीय जोखिम र अनियमितता रोक्न मन्दिर प्रशासनले नयाँ सुरक्षा व्यवस्था समेत लागु गरेको छ । जसअन्तर्गत मन्दिरमा भेटी संकलन गर्ने, संकलित रकम गणना गर्ने र त्यसलाई सुरक्षित रूपमा बैंकमा जम्मा गर्ने कार्यका निम्ति ६/६ जना सदस्य रहेका दुईवटा अलग-अलग विशेष टोलीहरू गठन गरी जिम्मेवारी दिइएको छ ।
यता, मन्दिरको रेखदेख र व्यवस्थापनको जिम्मेवारी पाएको ‘श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्’ ले भने यी आरोपहरूको खण्डन गर्दै मन्दिरको आर्थिक कारोबारको नियमित रूपमा अडिट भइरहेको र सबै प्रक्रिया पारदर्शी रहेको दाबी गरेको छ । तर, सर्वोच्च अदालतमा दर्ता गरिएको निवेदनमा भने स्वतन्त्र न्यायिक छानबिनले मात्रै नागरिक र भक्तजनहरूको विश्वासलाई थप सुदृढ बनाउने जिकिर गरिएको छ ।




