२४ जेठ, काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाले नयाँ मोड लिएको छ । जिल्ला परीक्षा समन्वय समितिले परीक्षाको मर्यादा कायम राख्न भन्दै चालेको यो कदमको विरुद्धमा विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् । उनीहरूले यस कार्यलाई विद्यार्थीमाथिको दमन भन्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार विद्यार्थी संगठनहरूले सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको उक्त प्रदर्शनमा सहभागी हुन जिल्लाभरका सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ । आन्दोलनरत पक्षले जफत गरिएका सामग्रीको उचित क्षतिपूर्ति दिनुपर्ने, विद्यार्थीमाथि भएको अन्याय बन्द हुनुपर्ने र पीडितहरूलाई तत्काल न्याय दिलाउनुपर्ने माग राखेका छन् । विद्यार्थी नेताहरूका अनुसार यो प्रदर्शनको मुख्य उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै आफ्ना मागहरू पूरा गराउन दबाब सिर्जना गर्नु हो ।
यो विवादको सुरुवात जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैत महिनामा सम्पन्न एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट बरामद गरेका उपकरणहरू नष्ट गरेपछि भएको हो । प्रशासनले परीक्षा हलभित्र प्रतिबन्धित डिजिटल उपकरणहरूको दुरुपयोग रोक्न र भविष्यका लागि सचेत गराउन भन्दै करिब ५०० थान मोबाइल र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको थियो । बरामद गरिएका सामग्रीहरूमा सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । परीक्षा अगावै मोबाइल प्रयोग गरेमा कडा कारबाही गरिने चेतावनी दिइएको र सोही आधारमा गठन भएको उपसमितिको निर्णयअनुसार नै उपकरणहरू नष्ट गरिएको प्रशासनको दाबी छ ।




