२० जेठ, माडी । चितवनको माडी वसन्तपुरमा जारी नगरस्तरीय माडी मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज २० गते छात्र तथा छात्रा दुवैतर्फका पहिलो सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् ।
वसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा जनकल्याण माविले सोमेश्वर माविलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ, जसमा जनकल्याण माविका उत्कृष्ट प्रदर्शन गरेका रोहित गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यसैगरी आजै भएको छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा दिवाकर स्मृति माविले बालविकाश ई. स्कुलमाथि ८–० को फराकिलो गोल अन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । उक्त खेलमा दिवाकर स्मृतिका लागि साहारा क्षेत्रीले ५ गोल, सरिस्का चापागाईंले २ गोल र निशु बरालीले १ गोल गरे भने उत्कृष्ट खेल प्रदर्शन गरेकी सरिस्का चापागाईं ‘प्लेयर अफ द म्याच’ चुनिन सफल भइन् ।
प्रतियोगिता अन्तर्गत भोलि जेठ २१ गते भने छात्रतर्फको अर्को खेल हुनेछ, जसमा माडी माध्यमिक विद्यालय र विद्याज्योति ई. स्कुलबीच खेल तालिका रहेको छ । “शिक्षासँगै खेलकुद” भन्ने मूल नाराका साथ नगर शिक्षा तथा खेलकुद विकास समिति, माडी नगरपालिकाद्वारा आयोजित यो प्रतियोगिता आगामी जेठ २४ गतेसम्म चल्नेछ ।




