१३ जेठ, चितवन । माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी जेठ १५ गते बुधबारका दिन “गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ । माडी क्षेत्रको रैथाने कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा आपसी सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने मूल उद्देश्यका साथ यो उत्सव आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रम जेठ १५ गते दिउँसो ३ बजेदेखि माडीको वसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुने आयोजकले जनाएका छन् । माडी प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ बमोजिम गठन भएको प्रतिष्ठानले गणतन्त्र दिवसको गौरवमय अवसर पारेर यस भव्य उत्सवको तयारी अगाडि बढाएको हो । मुख्य मञ्चको औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजाति र समुदायको पहिचान झल्कने आकर्षक एवं मौलिक झाँकी सहित वसन्तपुर बजार परिक्रमा गर्ने कार्यतालिका रहेको छ ।
उत्सवमा सांस्कृतिक विविधतालाई समेट्दै थारु जातिका विभिन्न ८ थरीका विशेष प्रस्तुतिहरू रहनेछन् भने मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई, दराई र बोटे लगायत १२ भन्दा बढी जनजातिका मौलिक झाँकी तथा सांस्कृतिक कलाहरू प्रदर्शन गरिनेछ । यसका साथै दलित समुदायको तर्फबाट परम्परागत पञ्चेबाजा र सारङ्गीका २ वटा प्रस्तुति, ब्राह्मण क्षेत्री समुदायको तर्फबाट स्वस्तिवाचन र भजनकीर्तनका २ वटा प्रस्तुति तथा स्थानीय कलाकार र विद्यालयहरूका तर्फबाट लोकप्रिय लोकदोहोरी गायन एवं नृत्यहरू प्रस्तुत गरिनेछ ।
यस उत्सवको अर्को मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका परम्परागत खानाका परिकारहरू स्वाद लिन मिल्ने गरी “मौलिक खाना पर्व” को समेत व्यवस्था मिलाइएको छ । यस खाना पर्वमा विशेष गरी माडीको स्थानीय पहिचान बोकेका रैथाने माछा तथा दुधका विभिन्न स्वादिला परिकारहरू समावेश गरिनेछन् ।
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटा र माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले यो कार्यक्रम सम्पूर्ण माडीवासीको साझा पर्व भएको बताउँदै सबै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र संघसंस्थाहरूलाई आफ्नो मौलिक पहिचान झल्कने पोशाक र झाँकी सहित उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य बनाइदिन हार्दिक आह्वान गर्नुभएको छ ।




