१२ जेठ, काठमाडौं । जापानको राजधानी टोकियोमा नेपाली परम्परागत परिकार सेलरोटी अब जापानी सुपरमार्केटसम्म पुगेको छ । जापानमा बढ्दो नेपाली समुदायसँगै नेपाली मौलिक स्वादलाई व्यावसायिक रूपमा बजारमा ल्याउने प्रयासले अहिले धेरैको ध्यान तानेको हो । टोकियोको शिन्जुकु क्षेत्रमा रहेको युकी इनोभेसन कम्पनीले सेलरोटीको व्यावसायिक उत्पादन तथा बिक्री वितरण सुरु गरेसँगै नेपाली मौलिक स्वादले जापानी बजारमा प्रवेश पाएको हो ।
जापानी बजारमा “सेल रोची” नामबाट बिक्रीमा ल्याइएको यस परिकारको मूल्य आकर्षक प्याकेजिङसहित दुई पिसको करसहित ४३१ येन तोकिएको छ । कम्पनीका अनुसार यो परिकार चामलको पीठो, चिनी, शुद्ध मख्खन र दूध प्रयोग गरेर पूर्ण रूपमा परम्परागत नेपाली शैलीमै तयार पारिएको हो । जापानको व्यस्त जीवनशैलीका कारण घरमै सेलरोटी बनाउन समय नपाउने प्रवासी नेपालीहरूका लागि यो निकै सहज विकल्प बनेको छ भने जापानी उपभोक्ताहरूले समेत नेपाली परिकारप्रति विशेष चासो देखाउन थालेका छन् ।
स्थानीय बजारमा नेपालीपन झल्किने खाद्य सामग्री सहज रूपमा उपलब्ध हुन थालेपछि प्रवासमा नेपाली खाद्य संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली उद्यमशीलताको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ भने उत्पादक कम्पनीले आगामी दिनमा जापानका अन्य मुख्य सहरहरूमा पनि यस्ता नेपाली परिकार विस्तार गर्ने योजना बनाएको छ ।




