१० जेठ, चितवन । चितवन उद्योग वाणिज्य संघले विगत लामो समयदेखि प्रत्येक सोमबार बजार बन्द गर्दै आएको अभ्यासलाई परिवर्तन गर्दै अबदेखि सोमबार व्यवसाय नियमित रूपमा सञ्चालन गर्ने र शनिबार सामूहिक रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेसँगै सोमबार पनि बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता र सेवाग्राहीमा अन्योल सिर्जना भएको महसुस गरी संघले यस्तो कदम चालेको हो । संघ र विभिन्न वस्तुगत संघहरूबीच सम्पन्न संयुक्त बैठकले अब उप्रान्त सम्पूर्ण व्यवसाय सोमबार खुला राख्ने र शनिबार सामूहिक रूपमा बन्द गर्ने सहमति जुटाएको छ ।
व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार प्रत्येक व्यवसायीमा निहित भए तापनि एउटै दिन सामूहिक रूपमा व्यवसाय बन्द गर्ने अभ्यासले व्यवसायीहरूको साझा आवाजलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । विशेष गरी कर नीति, बजार व्यवस्थापन, व्यावसायिक हकहित र आर्थिक चुनौती जस्ता निजी क्षेत्रका साझा मुद्दाहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यस किसिमको सामूहिक एकताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा संघले राखेको छ ।

शनिबार एक दिन व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीहरूले नियमित विश्राम पाउनुका साथै पसलको सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार र आन्तरिक प्रशासनिक कार्यहरू व्यवस्थित रूपमा सम्पन्न गर्न सहज हुने देखिन्छ । यस निर्णयबाट ग्राहक र सेवाग्राहीहरूमा बजार खुल्ने वा बन्द हुने विषयमा रहेको अनावश्यक भ्रम हट्ने हुँदा आगामी दिनदेखि सोमबार व्यवसाय खुला राखेर र शनिबार बन्द गरी व्यावसायिक ऐक्यबद्धता एवं अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्न संघले सम्पूर्ण व्यवसायी महानुभावहरूमा हार्दिक अपिल गरेको छ ।




