१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने तय भएको छ । बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ भने त्यसअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्ना धारणा राख्ने छन् ।
गत शुक्रबारदेखि सुरु भएको यस बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोलेका अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतले मात्र धारणा राख्दै संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको सोझो समर्थन नगरेको स्रोतले जनाएको छ । महासचिव पोखरेलले घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने विचार व्यक्त गरेका थिए । शनिबार महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए । यसअघि शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए भने उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल मात्र ओलीको पक्षमा उभिएका थिए ।
आजको बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले आफ्ना धारणा राख्नेछन् । हालसम्म धारणा राखेका धेरैजसो नेताहरूले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार गरेको स्रोतले बताएको छ । आज सबै नेताहरूको बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले बैठकमा उठेका विषयहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।




