चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकामध्ये ६ वर्षीया बालिकाको दुखद निधन भएको छ भने अन्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।
मंगलबार घरमा पकाएको जंगली च्याउ खाएपछि बिरामी परेका उनीहरूमध्ये हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत नमुना चेपाङको शुक्रबार बिहान घरमै ज्यान गएको हो । बिरामी परेका अन्य दुई दाजुदिदी सजन चेपाङ र मनिता चेपाङलाई स्थानीय बासिन्दा र विद्यालयका प्रधानाध्यापकको सक्रियतामा तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको छ । अस्पतालका अनुसार १२ वर्षीया मनिताको स्वास्थ्य अवस्था निकै जटिल रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ भने सजनको पनि सघन उपचार भइरहेको छ ।
जंगली च्याउ खाएपछि तीनै जना बालबालिका केही दिनदेखि घरमै बिरामी परेको भए पनि शुक्रबार बिहान बालिकाको निधन भएपछि मात्रै यो हृदयविदारक घटना बाहिर आएको थियो । सोही समयमा च्याउ खाएका आमाबाबुलाई पनि थप निगरानी र स्वास्थ्य जाँचका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ । चिकित्सकहरूका अनुसार जंगली च्याउमा हुने कडा विषले कलेजो र मिर्गौलामा गम्भीर क्षति पुर्याउने भएकाले यस्तो अवस्थामा ढिलो गरी अस्पताल पुग्दा जोखिम बढ्ने गर्दछ । बर्खायामको समयमा पहिचान नभएका जंगली च्याउको सेवन नगर्न र स्वास्थ्यमा समस्या देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञहरूले अनुरोध गरेका छन् । अहिले चिकित्सकहरूको टोली बिरामीहरूको ज्यान बचाउन निरन्तर प्रयासमा जुटेको छ ।



