चितवन । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा देखिएको प्राविधिक समस्या समाधान भएपछि देशभर रोकिएको सेवा पुन : सुचारु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजो साँझ एक विशेष सूचना जारी गर्दै अवरुद्ध सेवा सञ्चालनमा आएको जानकारी दिएको हो ।
गत वैशाख २१ गतेदेखि प्रणालीमा आएको खराबीका कारण नयाँ परिचयपत्रका लागि आवेदन दिँदा प्राप्त हुने ‘राष्ट्रिय परिचय नम्बर’ (NIN) प्रमाणीकरण गर्ने प्रक्रिया ठप्प भएको थियो । यसले गर्दा नयाँ दर्ता गर्न चाहने हजारौँ सेवाग्राही समस्यामा परेका थिए। विभागका प्राविधिक टोलीले प्रणालीको पूर्ण मर्मत गरेपछि हिजोदेखि नै सेवा सुचारु भएको विभागले जनाएको छ ।
विभागका निर्देशक कमल प्रसाद पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, मर्मत कार्य पूरा नभएसम्मका लागि प्रणालीले नम्बर प्रमाणीकरण गर्ने सेवा अवरुद्ध भएकोमा हिजो वैशाख ३० गतेदेखि सेवा सुचारु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । साथै, १० दिनसम्म सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले औपचारिक रूपमा क्षमायाचना समेत गरेको छ ।

यो सेवा सुचारु भएसँगै अब जिल्ला प्रशासन कार्यालयहरू र इलाका प्रशासन कार्यालयहरूबाट नयाँ परिचयपत्र दर्ता र प्रमाणीकरणको काम पहिले झैँ सहज रूपमा अगाडि बढ्नेछ ।



