चितवन । चितवनको भरतपुरबाट जनकपुरस्थित राममन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको पूर्वविद्यार्थी सवार एक बस रौतहटको निजगढ नजिकै दुर्घटनामा परेको ।
माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयका वि.सं. २०५२–५३ व्याचका पूर्वविद्यार्थीहरू सवार ग. प्र. ०६–००१ ख ०५४० नम्बरको बस शुक्रबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको हो । २९ जना सहपाठीहरू मिलेर आयोजना गरिएको उक्त धार्मिक तथा पर्यटकीय यात्राका क्रममा विपरीत दिशाबाट अचानक टाटा सुमो आएपछि बस अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा परी बसमा सवार ६ जना यात्रु घाइते भएका छन्, जसमध्ये तीन जनाको हात भाँचिएको छ भने अन्य तीन जनाको टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ । घाइतेहरूमध्ये सामान्य अवस्थामा रहेकाहरूको निजगढ सिटी हस्पिटलमा उपचार भइरहेको छ भने गम्भीर चोट लागेका घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । शुक्रबार बिहान करिब ८:३० बजे भरतपुरबाट उत्साहका साथ जनकपुरका लागि हिँडेको उक्त टोली गन्तव्यमा पुग्नै लाग्दा भएको यस दुःखद घटनाले परिवार र आफन्तजनमा चिन्ता थपेको छ । स्थानीय प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने बाँकी यात्रुहरूको अवस्था सुरक्षित रहेको बताइएको छ ।



