काठमाडौं । बैशाख ९
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । सम्पत्ति विवरणमा अपारदर्शिता, माइक्रो इन्स्योरेन्समा लगानी नदेखाएको, तथा विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि उनीमाथि तीव्र दबाब बढेको थियो । अन्तत : उनले निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएका हुन् ।
गुरुङले आफ्नो अडानअनुसार छानबिन समिति बनाएर सम्पत्तिको स्रोत जाँच गर्नुपर्ने बताएका थिए । तर सरकार पक्षले सुशासनमा ‘शून्य सहनशीलता’ नीति अपनाउँदै तत्काल मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
यसअघि पनि सरकारभित्र निर्णय प्रक्रियालाई लिएर दबाबको अवस्था देखिएको थियो । सोही क्रममा गुरुङको कार्यशैली र सम्पत्तिबारे उठेका प्रश्नले थप विवाद सिर्जना गरेको थियो । उनले सार्वजनिक गरेको विवरणमा उल्लेख नभएका सेयर, अस्पष्ट लगानी स्रोत तथा व्यक्तिगत खातामार्फत् सामाजिक संस्थाको रकम कारोबारजस्ता विषयले नैतिक र कानुनी प्रश्न उठाएका थिए ।
सरकार गठन भएको २६ दिनमै गुरुङले पद त्याग गरेका हुन् । अहिले गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने निर्णय भएको छ । सरकारले आवश्यक ठानेमा गुरुङमाथि थप अनुसन्धान हुन सक्ने जनाइएको छ ।



