१३ असोज, काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘असोज ८–११ गतेको भारी वर्षाको स्थिति प्रतिवेदन’मा यस्तो उल्लेख छ ।
प्रतिवेदनअनुसार उक्त चार दिनमा रेकर्ड भएका ५४२ घटनामा चारजना बेपत्ता र आठजना घाइते भएका छन् । घटनामध्ये ३०४ वटा पहिरो, ८७ वटा बाढी र १५१ वटा भारी वर्षासम्बन्धी छन् । मृतकमध्ये पहिरोमा २०, बाढीमा चार र भारी वर्षाका कारण तीनजनाको मृत्यु भएको हो ।
अविरल वर्षाले १,०८२ परिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोले १४२ घरमा आंशिक र २२७ घरमा पूर्ण क्षति पुर्याएको छ । १० वटा पुल प्रभावित भएका छन् भने ३१ गोठमा क्षति हुँदा ११४ चौपायाको मृत्यु भएको छ ।







