८ असोज, चितवन । भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज ९ गते शुक्रबार नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीअनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेको अवस्था उल्लेख गर्दै नगरपालिकाले सो निर्णय गरेको हो ।
नगरपालिकाले अभिभावक तथा नागरिकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ । साथै सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
नगरपालिकाको आग्रह
- बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा जान नदिनुहोस् ।
- अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोस् ।
- सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता र सावधानी अपनाउनुहोस ।







