६ असोज, चितवन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा ‘बिमा जागरण अभियान’ अन्तर्गत नौ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गर्नुका साथै रक्तदान, केक कटिङलगायतका कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको अवसर पारेर कम्पनीले असोज १ गते ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उच्च व्यवस्थापनको उपस्थितिमा शुभारम्भ गर्नुभएको यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि लक्षित छ । न्यून बीमा शुल्कमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने यस योजनामा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।
सन स्मार्ट प्रोटेक्सन बीमा योजना‘का प्रमुख विशेषताहरू : यो योजना १८ देखि ६५ वर्षसम्मको उमेर समूहका व्यक्तिहरूका लागि लक्षित गरिएको छ । यसमा आयस्रोतका आधारमा थप छनोट गर्न सकिने गरी न्यूनतम १० लाख रुपैयाँदेखि बीमाङ्क रकम कायम गरिएको छ । ग्राहकको सुविधाका लागि बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने व्यवस्था छ ।
यस योजनाअन्तर्गत बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी गरिनेछ । यसका साथै ऐच्छिक सुविधाका रूपमा ५० हजार रुपैयाँसम्म किरिया खर्च र १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ । यो बीमा योजना कम्पनीका देशभर रहेका १३६ वटा शाखा कार्यालय, आधिकारिक वेबसाइट तथा ‘Sun Connect’ डिजिटल माध्यमबाट सहजै लिन सकिनेछ ।
यसैबिच, वार्षिकोत्सवको अवसरमा माडी, टाँडी, भरतपुर, चनौली र नारायणगढ शाखाको संयुक्त सहकार्यमा नारायणगढ शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड माडी शाखाले पनि नवौँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमका बिच केक काटेर खुसीयाली मनाएको छ । माडी शाखामा आयोजित कार्यक्रममा शाखाका अभिकर्ता, कर्मचारी तथा शुभेच्छुकहरूको बाक्लो सहभागिता रहेको थियो । सहभागीहरूले कम्पनीको निरन्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आपसमा खुसी साटासाट गरेका थिए । माडी शाखाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिकर्ता, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ ।







