५ भदौ, चितवन । माडी नगरपालिकाले सामुदायिक विद्यालयका लागि करार शिक्षक नियुक्ति गर्न सञ्चालन गरेको शिक्षक छनोट प्रक्रियाप्रति थारू कल्याणकारिणी सभा, क्षेत्र नं. १ माडीले पुन : आपत्ति जनाएको छ । सभाले छनोट प्रक्रियामा गम्भीर अनियमितता भएको दाबी गर्दै निष्पक्ष पुन : छानबिन र प्रभावित उम्मेदवारलाई न्यायोचित अवसर दिन माग गरेको छ ।
सभाका अध्यक्ष सुक्रमिया महतोद्वारा जारी प्रेस विज्ञप्तिमा लिखित परीक्षामा गम्भीर त्रुटि भएको, सफल हुनुपर्ने प्रतिस्पर्धी असफल तथा असफल हुनुपर्ने प्रतिस्पर्धी सफल बनाइएको र केही उम्मेदवारलाई लिखित परीक्षामा सहभागी हुनबाट समेत वञ्चित गरिएको आरोप लगाइएको छ । सभाले यसलाई सामान्य प्राविधिक त्रुटि नभई सार्वजनिक शिक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको जनाएको छ ।
विज्ञप्तिमा माडी नगरपालिकाको कार्यपालिका बैठकले प्रक्रियागत त्रुटि गर्ने कर्मचारीमाथि नियमानुसार कारबाही अघि बढाउन सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको उल्लेख छ । तर छानबिनबाट उठेका गम्भीर प्रश्नको निष्पक्ष निराकरण, वास्तविक जिम्मेवारी निर्धारण र प्रभावित उम्मेदवारको न्याय सुनिश्चित नभएको सभाको दाबी छ ।
थारू कल्याणकारिणी सभाले सङ्घीय शिक्षा नियमावली तथा प्रचलित कानुनअनुसार विगतको विवादित प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेर नयाँ र निष्पक्ष शिक्षक छनोट प्रक्रिया सञ्चालन गर्न माग गरेको छ । साथै प्रश्नपत्र, उत्तरपुस्तिका, प्राप्ताङ्क, मूल्याङ्कन विवरण, नतिजा तथा निर्णय प्रक्रियालाई कानुनी सीमाभित्र रहेर पारदर्शी बनाउनुपर्ने जनाएको छ ।
अनियमितताका कारण परीक्षार्थीको हक, नतिजा वा प्रतिस्पर्धाको अवसर प्रभावित भएको भए निष्पक्ष मूल्याङ्कन गरी पीडितलाई न्यायोचित अवसर दिनुपर्ने सभाको माग छ । भविष्यमा यस्ता त्रुटि तथा अनियमितता दोहोरिन नदिन नगरपालिकाले स्पष्ट जवाफदेहिता, अनुगमन र नियमनको व्यवस्था गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
सभाले शिक्षक छनोट प्रक्रियामा भएको भनिएको अनियमितताको स्वतन्त्र र विश्वसनीय पुन : छानबिन, जिम्मेवार व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही तथा प्रभावित उम्मेदवारको न्याय सुनिश्चित गर्न आग्रह गरेको छ । सम्बन्धित निकायले निष्पक्ष छानबिन र समाधानका लागि तत्काल प्रभावकारी कदम नचाले थप सशक्त आवाज उठाउन बाध्य हुने चेतावनीसमेत सभाले दिएको छ ।








