६ असार, चितवन । माध्यमिक शिक्षा (कक्षा १२) को परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले निकै सुधारिएको र सन्तोषजनक नतीजा हासिल गरेका छन् । माडी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको नयाँ विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल १५९ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा १३४ जना अर्थात् ८४.२७ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका हुन् । यस शैक्षिक नतिजा अनुसार विद्यार्थी संख्याको अनुपातमा जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक ९३.७५ प्रतिशत उत्तीर्ण नतिजा ल्याएर पहिलो स्थान हासिल गरेको छ । सो विद्यालयबाट १६ जना परीक्षामा सहभागी रहेकोमा २ जनाले ३.२ देखि ३.६ जि.पि.ए. ल्याएका छन् भने १ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।
त्यस्तै संख्यात्मक रूपमा दोस्रो स्थानमा रहेको जनजीवन माध्यमिक विद्यालयले पनि निकै राम्रो ९२.३१ प्रतिशतको नतीजा हासिल गरेको छ । कुल ३८ जना विद्यार्थीलाई परीक्षामा सहभागी गराएको जनजीवन माविबाट १ जनाले ३.६ देखि ४ जिपिए र ५ जनाले ३.2 देखि ३.६ जि.पि.ए. ल्याउँदा ३ जना विद्यार्थी मात्र ननग्रेडेड भएका हुन् । यसै गरी ५४ जना विद्यार्थीलाई परीक्षामा सहभागी गराएको माडी माध्यमिक विद्यालयले ८३.३३ प्रतिशत अर्थात् ४५ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । सो विद्यालयबाट ६ जनाले ३.६ देखि ४ जिपिए र ११ जनाले ३.२ देखि ३.६ जि.पि.ए. ल्याउँदा ९ जना ननग्रेडेड भएका छन् भने यहाँ अध्ययनरत विज्ञान र पशु विज्ञान विधाका विद्यार्थीहरू भने शतप्रतिशत उत्तीर्ण भएका छन् ।
यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले ७६ प्रतिशत विद्यार्थीहरूलाई उत्तीर्ण गराउन सफल भएको विवरण प्राप्त भएको छ । उक्त विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी भएका कुल ५० जना विद्यार्थीहरूमध्ये २ जनाले ३.६ देखि ४ जिपिए र ३ जनाले ३.२ देखि ३.६ जि.पि.ए. ल्याएका छन् भने १२ जना विद्यार्थीहरू ननग्रेडेड भएका छन् । माडी नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर मापनका लागि यो विवरण सार्वजनिक गरे पनि यस आँकडामा माडी क्याम्पसको नतिजा भने समावेश नगरिएको जानकारी दिएको छ ।
समग्र उत्तीर्ण विद्यार्थी संख्याको आधारमा तुलना गर्दा माडी माध्यमिक विद्यालयबाट सबैभन्दा धेरै ४५ जना विद्यार्थी सफल भएका छन् । त्यस्तै सोमेश्वर माध्यमिक विद्यालयबाट ३८ जना र जनजीवन माध्यमिक विद्यालयबाट ३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी संख्या परीक्षामा सामेल गराएको जनकल्याण माध्यमिक विद्यालयबाट सबैभन्दा थोरै १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।




