युवा कवि विपिन पाठकको प्रकाशित बहुचर्चित कविता सङ्ग्रह “मरूभूमिमा वसन्ती याम” भित्र सङ्ग्रहित यो एउटा अत्यन्तै मर्मस्पर्शी कविता हो । कुनै राजनीतिक नारा वा चुनावी चर्चाभन्दा धेरै टाढा रहेर यो कविताले नेपाली आमाहरूको दिनचर्या, उनीहरूको अथाह सङ्घर्ष र जीवन जिउन सिकाउने उनीहरूको अनुभवको गहिरो रूपलाई प्रस्तुत गरेको छ ।
घाम-पानी र मेला-पात गरेर आफ्ना सन्तानका लागि जीवन उत्सर्ग गर्ने संसारका सम्पूर्ण आमाहरूमा समर्पित कवि विपिन पाठकको कविता ‘आमाको विश्वविद्यालय’ यहाँ प्रस्तुत गरिएको छ :
आमाको विश्वविद्यालय
– विपिन पाठक
– विपिन पाठक
भालेको अलार्मसँगै
उठेर सखारै
खड्कुँलो, भान्सा
दैलाठेलो, मझेरी
आँगन र कौसी
बाँडेर आफैँलाई, डुलाएर पोतो
बोकेर नामलों बाँधेर पटुकी
हालेर कटमेरा मकैका दाना
सुसेल्दै जिन्दगीको बेमेल गाना
झिसमिसेमै पुग्ने गर्छिन् आमा
जङ्गलको प्रवेशद्वार
जङ्गल हुनु आमाको पाठशाला हो
आमाकी सहेली हो
हतारो, पीडा र उल्झनको एकमात्र साक्षी हो
मनको साततन्द्रामा बेरिएका दुःखको मलम पनि हो जङ्गल
मेरी आमाले सिकेकी हुन् समयबाट
रोकिएर नरोकिने यात्रा
वनफूलबाट सिकेकी हुन्
दुःखमा पनि मुस्कुराउने कला
झरनाहरूबाट सिकेकी हुन्
सङ्गीतको मधुर धुन्
भैँसीडाँडा, आरने ढुङ्गा
उल्टेको भीर, राजवृक्ष
देउराली, अमिलो गौँडो
बोकेर आफ्नै जिन्दगी जस्तै भीमकाय दर्जनौँ भारी
नाचिरहिन् भोको पेट
फाटेका पैतालाले बाटो
बैँस, बुढ्यौली र बालपन
सबै गरेर जङ्गलमै समर्पित
लगाएर सीमाको जङ्गे पिलरसँगै पिरती
ठेला उठेका हातले समाएर बन्चरो र आसि
काटेर समयजस्तै अप्ठ्यारा दाउरा र बुट्यान
फाँडेर झाडी
पढेर बोट बिरुवाकै कखरा
साल, सिसौ, धएरो, सादन र खयर
त्यसकै गरेर स्नातक
त्यसकै गरेर स्नातकोत्तर
बिताइन् आमाले बिहान, दिन र साँझ
जोगाएर जोबनका शिकारीहरूसँग
छरिएका खतरै खतराको एम्बुस
गरिरहिन् पार
घोटेर हड्डी, खियाएर औँला
टालेर अनगन्ती धोती
अवराम बोकिरहिन् घाँस र दाउराको भारी
हिउँद र वर्षा दिइरहिन् अग्नि परीक्षा
दसैँ, तिहार र ल्होसार
जितिया, माघी र छठ
सबै सबै बिते जङ्गलकै काखमा
नलेखिने बाह्रखरी पढिरहिन् लगातार
निरक्षर भएरै शिक्षित बनिरहिन् हरबार
सायद वन र वनजस्तै दुःखहरूको
अनकन्टार जिन्दगी नै थियो
संवेदना निर्माण गर्ने
आमाको विश्वविद्यालय ।




