१९ बैशाख, काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घनको आधारमा सवारी चालकको लाइसेन्स, ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिन नपाइने ठहर गरेको छ ।
अदालतले यस्तो कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत भएको भन्दै सम्बन्धित निकायलाई रोक लगाउन निर्देशनात्मक आदेश जारी गरेको हो । यो फैसला ट्राफिक कारबाहीका क्रममा कागजपत्र नियन्त्रणमा लिइएको घटनापछि दायर रिटमाथि सुनुवाइ गर्दै आएको हो ।
अदालतले कानुनले स्पष्ट रूपमा अनुमति नदिएको अवस्थामा नागरिकका कागजपत्र कब्जा गर्नु स्वेच्छाचारी र गैरकानुनी हुने उल्लेख गरेको छ । फैसलाअनुसार अब ट्राफिक प्रहरीले नियम उल्लङ्घनमा जरिवाना गर्न सक्नेछ, तर सवारी चालकको लाइसेन्स वा अन्य कागजपत्र कब्जा गर्न पाउने छैन । अदालतले यस्तो कार्यले नागरिकको आवतजावत र पेशा व्यवसाय सञ्चालन गर्ने अधिकारमा असर पार्ने पनि जनाएको छ ।



