११ असोज, चितवन । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाको आइतबार बिहान ५:४० बजेको विवरण अनुसार नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रमा बाढीले खतराको विन्दु नाघेको हो । नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
बाढीको जोखिम बढेसँगै महाशाखाले तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ । नारायणीमा बाढीको सतह बढ्दै जाँदा चितवन र नवलपुरका तटीय क्षेत्रहरू डुबानको जोखिममा परेका छन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले नदी किनारका नागरिकहरूलाई सजग र सुरक्षित रहन आग्रह गरेका छन ।







